शिक्षामा प्रगतिशील करबारे अन्तरक्

Written by NCE Nepal

November 26, 2017

मुलुकको सार्वजनिक शिक्षा व्यवहारिक र गुणस्तरीय भएन भन्ने विषयले चर्चा पाइरहदा सदरमुकाम कुश्मामा प्रगतिशील करबारे आइतवार गरमागरमी बहस कार्यक्रमको आयोजना गरिएको छ ।

कुश्माकै चर्चित होटल बन्दनामा आयोजित सार्वजनिक शिक्षामा लगानी र प्रगतिशील कर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले शिक्षा क्षेत्रका विकृति र विसंगतिलाई छताछुल्ल पारिदिएका छन् । शिक्षा क्षेत्रमा भएका भ्रष्टचारका विषयको समेत खुलासा भएको छ । शिक्षामा प्रगतिशील कर भन्दा पनि गुणस्तर सुधार गरी समान शिक्षाको व्यवस्था गरिनुपर्नेमा वक्ताहरुको जोड थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि, संचारकर्मी, कानुन व्यवसायी, राजनीतिक र सामाजिक व्यक्तित्व, विभिन्न संघसंस्था र विद्यालयसँग सम्वन्धित व्यक्तित्वहरुको सहभागीता थियो । सहभागीहरुले शैक्षिक क्षेत्रमा आफूहरुले देखेका र अनुभव गरेका विषयहरुलाई खुलस्त राखे । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जिल्ला शिक्षा कार्यालयबाट विद्यालयमा गरिनुपर्ने अनुगमन नभएको गुनासो गरे । अध्यक्ष पौडेलले गुनासो मात्र गरेनन् ।

सामुदायिक विद्यालयमा भएको भ्रष्टचारबारे यसरी भने, –‘मोदी गाउँपालिका अन्तर्गतकै एक विद्यालयले ९ कक्षामा १८१ जना विद्यार्थीहरु छन् भनेको थियो । पछि कक्षा अनुगमन गर्दा १०६ जना मात्र पाइए । थोरैलाई धेरै विद्यार्थी देखाएर छात्रावृत्ति र पाठ्यपुस्तक साथै शिक्षा कार्यलयबाट प्राप्त हुने धेरै सुविधा लिएको पाइयो । करीव २ लाख रुपैया बराबर विद्यालयका प्रधानध्यापकले भ्रष्टचार गरेका छन् ।’ गाउँपालिकाकै एक सामुदायिक विद्यालयको जग्गा र भवनलाई असर पुग्ने गरी निजी विद्यालयले कानून विपरित भवन निर्माण गरेको समेत उनले बताए । कुन विद्यालय र प्रधानध्यापकले भ्रष्टचार गरेको हो ? भन्नेबारे पछि खुलाउने समेत उनले दावी गरे ।

गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेलले सामुदायिक शैक्षिक क्षेत्रमा व्यापक आर्थिक दुरुपयोग छ यसलाई रोक्नुपर्ने बताए । उनले कतिपय सामुदायिक विद्यालयमा ४ जना शिक्षकले ५ जना विद्यार्थी पढाएर बसेको अवस्था रहेको उल्लेख गरे । नारायण उच्च माविका पुर्व प्राचार्य पृथ्वी नारायण शर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबारे चिन्ता व्यक्त गर्दै यसो भने–‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर यति कमजोर भइसकेको छ कि अव विग्रने भन्ने ठाउँ नै बाँकी छैन ।’ नीजि विद्यालयको शैक्षिक अवस्थाप्रति समेत प्राचार्यको तीव्र असन्तुष्टि यसरी पोखियो,–‘नीजि विद्यालयले अराष्ट्रवादी जनशक्ति उत्पादन गरिरहेका छन् ।’ उनको यो तर्क नीजि विद्यालयबाट गतिलो अंक ल्याइ पास गर्ने विद्यार्थीहरु सवै विदेश जान्छनु भन्ने तर्फ इंगित हो । उच्च डिग्री पढेलेखेका व्यक्तिहरुमा समेत नैतिकता र विवेक नहुन भनेको शैक्षिक असफलता भएको प्राचार्य शर्माको भनाई छ । उनले प्रगतिशील करको विषय उठाउनु पुर्व प्रगतिशील पाठ्पुस्तक, प्रगतिशील शिक्षक र प्रगतिशील विधि व्यवहारमा लागू हुुनुपर्ने बताए ।

पर्वतकै महाशीला गाउँपालिकाको प्रतिनिधित्व गरी कार्यक्रममा सहभागीता जनाएका जीवनउच्चै ठकुरीले शिक्षामा अभिभावकहरुले चासो नदिनु चिन्ताको विषय रहेको भनाई राखे । आफ्नो गाउँपालिकामा विद्यार्थीलाई विद्यालयमा नियमित आउन भनी दिवा खाजाको व्यवस्था गरेको उनले बताए । कुनपा ७ का वडा अध्यक्ष सुवास पौडेलले मुलुकको सामुदायिक शिक्षामै खोट रहेको आरोप लगाए । उनले कुनै विषयको डिग्री पास गर्नेलाई मात्र नभई जुनसुकै क्षेत्रमा राम्रो गर्न सक्ने व्यक्तिलाई सम्मानको प्रमाणपत्र दिन सक्ने व्यवस्था गर्न सुझाए । पत्रकार महासंघका उपाध्यक्ष प्रनिश गिरीले शिक्षा क्षेत्रमा प्रगतिशील करबारे सवाल उठाउनु पूर्व नीजि विद्यालयले उठाउने चर्को शुल्क र सामुदायिक विद्यालयको भ्रष्टचारलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

शिक्षा क्षेत्रमा संलग्न शिक्षक नै अनैतिकता र भ्रष्टचारमा लिप्त हुनु चिन्ताको विषय भएको भन्दै नैतिक मूल्य र मान्यता स्थापित गर्न पूर्वीय ज्ञान र दर्शनलाई वैज्ञानिक ढंगले शिक्षामा जोड्नुपर्ने तर्क राखे । नीजि विद्यालयको प्रतिनिधित्व गर्दै बोलेका राष्ट्रिय बालशिक्षाका प्रिन्सिपल रामकृष्ण रेग्मीले सवैभन्दा पहिले प्रत्येक व्यक्तिले आफ्नो सोचाई र दृष्टिकोण परिवर्तन गरी सकारात्मक बनाउनुपर्ने बताए । प्रत्येक व्यक्तिको सोच परिवर्तन भयो भने बालबालिकाको पनि शिक्षा प्रतिको सोच सकारात्मक हुने धारणा उनको थियो । जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले २० वर्ष पहिलासम्म विद्यालयमा एकसाथ बसेर पुस्तक पढ्न सक्ने वातावरण थिएन तर अहिले दलितले पनि पढ्न पाएको अवस्था रहेको बताए ।

समान तथा गुणस्तरीय शिक्षाका लागि प्रगतिशील कर एउटा अंग हुने उनको तर्क थियो ।
मोदीगाउपालिकाकी उपाध्यक्ष सेती महतले आफ्नो गाउँपालिका अन्तर्गतको सामुदायिक विद्यालयमा पढाउने एक शिक्षकले आफ्ना छोराछोरी कुश्माको नीजि वोर्डिङ स्कुलमा पढाउने गरेको बताउदै यसो गर्नु गलत भएको बताइन् । शिक्षकलाई घरपायक दिन नहुने भन्दै उपाध्यक्ष महतले भनिन्–‘घरपायक भएका शिक्षक नै विद्यार्थीसँग बसेर तास खेल्ने र रक्सी पिउने गर्छन् भने शिक्षाको सुधार कसरी हुन्छ ?’

जिल्ला शिक्षा कार्यालय पर्वतका तथ्यांक अधिकृत राजेन्द्र क्षेत्रीले शिक्षा क्षेत्रको सुधार हुन नसक्नुमा राजनीतिक दवाव रहेको खुलासा गरे । शिक्षक र विद्यालय समायोजन गरी शिक्षा क्षेत्रमा सुधार गर्न खोज्दा व्यापक राजनीतिक दवाव थेग्न परेको उनको भनाई थियो । अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भूमिराज शर्माले स्थानीय तहका जनप्रतिनिधिले नै शिक्षा क्षेत्रलाई विशेष महत्व दिई योजना र कार्यक्रममा समाहित गर्नुपर्ने बताए ।

फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले शिक्षाको गुणस्तर सुधार गर्न सवैभन्दा पहिला शिक्षक नै तयार हुनुपर्ने बताए । शिक्षकले आफ्नो बाह्य र आन्तरिक व्यक्तित्व सुधार गरी आत्मविश्वासका साथ विद्यालय प्रवेश गरेमा शिक्षामा तत्काल सुधारका लक्षण देखापर्ने तर्क गरे ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता निवृत्त शिक्षक समाज पर्वतका अध्यक्ष बाबुराम सुवेदीले गरेका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्धारा आयोजित कार्यक्रममा जिल्ला संयोजक राजेन्द्र पहाडीले कार्यपत्र प्रस्तुत गरेका थिए भने सदस्य सचिवले कार्यक्रमको संचालन गरेका थिए ।

समाचार श्रोत: saharapati.com/archives/7244

You May Also Like…

प्रविधिमा आधारित शिक्षा

प्रविधिमा आधारित शिक्षा

शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले तीनै तहका सरकारलाई शिक्षकको पेशागत विकासमा...

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *